भैंसेपाटीमा मन्त्री आवास बनाउने सरकारी निर्णय | पुल्चोकका मन्त्री निवास बन्ने भए राजकीय अतिथि भवन, स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त
काठमाडौं । सरकारले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूका लागि मन्त्री आवास निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ललितपुरको भैंसेपाटीस्थित सैबु आवास क्षेत्रमा आवास निर्माण गर्ने निर्णय गरेको हो ।
उक्त क्षेत्रमा २७ वटा भवन निर्माण गर्ने निर्णय गरिएको छ । यस्तै प्रदेश प्रमुख र मन्त्रीहरूका लागि १४ वटा आवास तथा सम्पर्क कार्यालय बनाइनेछ ।
त्यसैगरी, पुल्चोकमा रहेका मन्त्री निवासका १० वटा भवनलाई राजकीय अतिथि भवन बनाइने र त्यसका लागि जग्गा अभाव भएमा राष्ट्रिय पुस्तकालयको छेउमा रहेको सरकारी जग्गासमेत उपयोग गर्न सकिने निर्णय बैठकले गरेको छ ।
बैठकले नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी वीरगञ्जको स्थापना गर्दा विस्थापित भएर घरबारविहीन हुन पुगेका परिवारलाई प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले केही दिनअघि युनिभर्सल पिस फेडरेशनले पुरस्कारस्वरुप दिएको १ लाख अमेरिकी डलरमा सोबराबरको रकम थपेर प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्रहालय बनाउने निर्णय गरेको छ भने नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि सिफारिश गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा विराटनगरका रमेशकुमार पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।