पूर्वएआईजीले कभर्ड हलका लागि दिए १ करोड ५० लाखको जग्गा |
काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) अमरसिंह शाहले बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि करिब १ करोड ५० लाखबराबरको १० कट्ठा जमिन निःशुल्क दान दिएका छन् । उनले आफ्ना दिवंगत पितृको स्मृतिमा उक्त कभर्ड हल निर्माण गर्न दमक नगरपालिकालाई उक्त जग्गा प्रदान गरेका हुन् ।
दिवंगत पिता नारायणसिंंह र माता ज्योतिकुमारी सिंहको स्मृतिमा उनले दमक नगरपालिका–९ स्थित जमिन प्रदान गरेका हुन् । खेलकुदमा रुचि राख्ने उनी दमक–९ का स्थायी बासिन्दासमेत हुन् ।
नगरप्रमुख रोमनाथ ओलीका अनुसार दाता शाहले दिएको जग्गामा कभर्ड हलको नाम ‘नारायण–ज्योति मल्टिपल कभर्ड हल’ राखिने र यसै आर्थिक वर्षबाट काम पनि शुरु गरिनेछ ।
नगरप्रमुख ओलीका अनुसार सुविधासम्पन्न उक्त कर्भड हल आगामी ५ वर्षभित्रमा निर्माण पूरा गरिने लक्ष्य छ । जग्गादान, नामाकरण तथा निर्माणसम्बन्धी व्यवस्थापकीय विषयमा समेत दाता परिवारसँग सहमति भई हस्ताक्षार भइसकेको उनले जानकारी दिए ।
नगरपालिकाको बोर्ड बैठकले यहाँ कभर्ड हल निर्माणका लागि नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंको संयोजकत्वमा निर्माण समिति र जग्गादाता शाहको संयोजकत्वमा अनुगमन तथा सल्लाहकार समितिसमेत गठन गरेको छ ।