नेप्सेलाई नयाँ ब्रोकर थप्न बोर्डको निर्देशन | उपत्यकाबाहिरका लागि पनि ब्रोकर लाइसेन्स खुला हुँदै, नेप्सेमा छलफल शुरू
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ ब्रोकर कम्पनी थप गर्नका लागि छलफल शुरू गरेको छ । पछिल्लो समय संघीय संरचनाअनुसार विभिन्न प्रदेश र स्थानीय स्तरमा ब्रोकर लाइसेन्स खुला गर्न बोर्डले निर्देशन दिएपछि नेप्सेले छलफल शुरू गरेको हो ।
हाल धितोपत्रको प्राथमिक बजार नेपालका ७७ वटै जिल्लामा विस्तार भइसकेको अवस्थामा उपत्यकाबाहिर पनि ब्रोकर लाइसेन्स दिइनुपर्ने आवश्यकता रहेको बताउँदै बोर्डले नेप्सेलाई त्यस्तो निर्देशन दिएको हो ।
हाल लागू भइरहेको पुरानो कार्यविधिलाई केही संशोधन गरेर ब्रोकर लाइसेन्स थप्ने प्रक्रिया अघि बढ्ने नेप्सेले बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘एक दशकभन्दा अघि र अहिलेमा धेरै विषय परिवर्तन भइसकेका छन् । ऐन÷नियम नै परिवर्तन भएकाले नयाँ कार्यविधिका लागि छलफल शुरू भएको छ ।’
उनका अनुसार प्रारम्भिक छलफलअनुसार आवेदकको योग्यता, पूर्वाधार, प्राविधिक पक्ष र खोल्न खोजिएको स्थानको व्यावसायिक योजनालाई नेप्सेले हेर्नेछ । केन्द्र र स्थानीय स्तरमा हुने व्यवसायको सम्भावनालाई हेरेर कार्यविधि तयार हुनेछ ।
प्रारम्भिक छलफलमा दुई वर्ष अगाडि बनेको दोस्रो बजार कारोबार विस्तार योजनामा अनलाइन शेयर कारोबार, बैंकलाई ब्रोकर लाइसेन्स र अन्यलाई ब्रोकर लाइसेन्स दिइने विषयसमेत उठान भएका थिए ।
सम्पूर्ण जिल्लामा धितोपत्रको बजार विस्तार भइसकेको अवस्थामा थपिएका नयाँ ब्रोकरको कारोबारको क्षेत्राधिकारका बारेमा पनि नेप्सेमा छलफल शुरू भएको छ ।
नयाँ थपिने ब्रोकरको व्यावसायिक क्षेत्राधिकार, संख्या र क्षमताका विषयको टुङ्गो नेप्सेले नै लगाउने बोर्डले जानकारी दिएको छ । नेप्सेले ब्रोकर थप्ने प्रकिया र विधि निर्धारण गरेपश्चात् बोर्डले अन्तिम स्वीकृति दिने बताइएको छ । ‘नेप्सेले आफ्नो प्रणालीको क्षमताअनुसार क्षेत्राधिकार, संख्या र क्षमताका विषयको टुङ्गो लगाउने छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने ।