आईएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच सम्झौता |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतासँगै अब यस बैकका खातावाला ग्राहक महानुभावहरूले निःशुल्क रूपमा रू. १० लाखबराबरको दुर्घटना बीमा र रू.२५ हजारबराबरको औषधोपचार बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पाउन सक्ने बताइएको छ ।
सो अवसरमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरूको निःशुल्क रूपमा रू. १० लाखबराबरको दुर्घटना बीमा तथा रू. २५ हजारको औषधोपचार बीमा जानकारी दिए । उनले आफना ग्राहकहरूलाई थप सेवा प्रदान गर्न आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग बीमा सेवाका लागि संझौता गरिएको बताए ।
त्यसै गरी आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।