एनआईसी एशियाको नयाँ शाखा कार्यालय झापाको बिर्ताबजारमा |
काठमाडौं । एनआईसी एशिया बैंकले हालै झापाको बिर्तामोड नगरपालिका– ३, बिर्ता बजारमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोही नगरपालिकाका मेयर धुर्वकुमार शिवाकोटीले गत मंगलवार उद्घाटन गरेका हुन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २६८ शाखा कार्यालय, २८१ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १९ वटा शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्न बैंक सफल भएको छ ।
मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार रू. २११ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।
हालसम्म ग्राहक संख्या करिब १३ लाख ५० हजार छ भने संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने अभियानलाई पनि जारी नै राखेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।