प्राधिकरणद्वारा पुनर्निर्माणको काम स्थानीय निकायलाई हस्तान्तरण गर्ने निर्णय |
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रका पुनर्निर्माणसम्बन्धी कार्यको जिम्मेवारी अब सबै स्थानीयहरूसँग समझदारी गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको छ । आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार पुनर्निर्माणको कामलाई छिटो र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग छुट्टाछुट्टै समझदारी गर्ने निर्णय गरिएको हो । भूकम्प प्रभावित ३२ जिल्लाका २ सय ७२ स्थानीय तहमा पुनर्निर्माणको काम भइरहेको छ । यसअघि, प्राधिकरणले काभ्रे जिल्लाका सबै स्थानीय तहसँग छुटाछुट्टै समझदारी गरेको थियो ।
बैठकले पुनर्निर्माणको समीक्षा गर्न र स्थानीय तहहरूसँग समझदारी गर्नका लागि मंसिर २१ गतेदेखि भूकम्प प्रभावित क्षेत्रहरूमा समीक्षा कार्यक्रम र पुनर्निर्माण जिल्ला समन्वय समितिको बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।
समझदारीका लागि तयार पारिएको समझदारीपत्रमा नगरपालिका गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकताअनुसार खटाउने, प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्नेलगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने उल्लेख छ ।
यस्तै, नगरपालिका र गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनर्निर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयस्तरबाट कार्यान्वयन हुने आयोजनाहरू जस्तो गुम्बा, एकीकृत बस्ती, स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले शर्तसहित नगरपालिका र गाउँपालिकामा निकासा उपलब्ध गराउने व्यवस्था मिलाउन सक्ने, नगरपालिका र गाउँपालिकाले प्राधिकरणको सहयोग र समन्वयमा स्थानीय पुनर्निर्माण कार्य योजना तयार पारी कार्यान्वयन गर्ने, यसमा प्राधिकरणले आवश्यक सहयोग गर्ने उल्लेख हुनेछ ।
समझदारीपत्रमा पुनर्निर्माणका क्रममा केही जटिलता एवम् समस्याहरू आइपरेमा प्राधिकरण तथा नगरपालिका र गाउँपालिकाले आपसी समझदारी कायम गरी कार्यान्वयनलाई अगाडि बढाइनेलगायतका ११ बुँदा रहेका छन् ।