अप्पर नौगडगाढले आगामी चैत १५ गतेदेखि उत्पादन शुरू गर्ने |
काठमाडौं । ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत् आयोजनाले आगामी चैत १५ गतेदेखि उत्पादन शुरू गर्ने भएको छ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाबाट सो मितिदेखि नै उत्पादन शुरू गर्ने गरी निर्माणको अन्तिम चरणका कार्यहरू भइरहेको बताइएको छ ।
कम्पनीले दार्चुला जिल्लामा जलविद्युत् उत्पादन गर्न लागेको यो दोस्रो आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाको १३२ केभी क्षमताको बलाँच सवस्टेशनमा जोडिनेछ ।
सवस्टेशनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । सो आयोजनाा नेपाल एसबीआई बैंक र प्रभु बैक लिमिटेडको संयुक्त लगानी रहेको छ । निर्माण सम्पन्न भएपछि कम्पनीका यी दुई आयोजनाबाट कुल १६.५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
यसअघि कम्पनीले ८ मेगावाट क्षमताको अर्को आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालनमा रहेको छ । कम्पनीले यसपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू गर्ने तयारी गरेको छ ।
यसका अलावा कम्पनीले १४ मेगावाट क्षमताको सोलार आयोजनाको निर्माण कार्य पनि शुरू गरेको छ । सोलार आयोजना र माथिल्लो चमेलिया गरी कम्पनीको क्षमता ७०.५ मेगावाट हुनेछ ।