यामाहाको सुपर स्पोर्ट्स बाइक सार्वजनिक, मूल्य ४ लाख १९ हजार ९ सय रुपैयाँ |
काठमाडौं । यामाहाको सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि यामाहाका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले उक्त नयाँ सुपर स्पोर्ट्स बाइक आर१५ (भर्सन ३.०) नेपाली बजारमा सार्वजनिक गरेको हो ।
नयाँ सुपर स्पोर्ट्स मोडलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४–स्ट्रोक, ४–भल्भ र फ्युल इञ्जेक्टेड इन्जिन रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यस बाइकमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सिसीको इन्जिन जडान गरिएको छ, यसले १० हजार आरपीएममा १९.३ पीएसको पावर र ८५ सय आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ । यसको शुरूआती मूल्य ४ लाख १९ हजार ९ सय कायम गरिएको छ ।
१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३ मा फुल डिजिटल ड्यासबोर्ड, एलईडी हेडलाइट र टेललाइट जडान गरिएको छ । एमएडब्लू इण्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘एग्रेसिभ राइडिङ पोजिसन र चौडा टायर रहेको यो बाइकमा पर्फमेन्स, डिजाइन र इनोभेसनजस्ता सिद्धान्तलाई अवलम्बन गरिएको छ ।’