माछापुच्छ्रे बैंकले पनि ब्याजदर १२.५ प्रतिशत पुर्यायो | मुद्दति निक्षेपको ब्याजदरमा बैंकहरूबीच फेरि प्रतिस्पर्धा शुरू
काठमाडौं । बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर तोक्न खुला गरेपछि हिजो मंगलवारबाटै बैंकहरूबीच प्रतिस्पर्धा शुरू भएको छ । आज माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ । प्रकाशित ब्याजमा थप आधा प्रतिशत बिन्दु बढीसम्म बैंकहरूले दिन पाउँछन् । त्यसो हुँदा उक्त ब्याजदर १३ प्रतिशत पुग्छ । संघको निर्णयलगत्तै हिजैदेखि जनता बैंकले मुद्दति निक्षेपको ब्याजदर १२.५ प्रतिशत पुर्याएको छ ।
माछापुच्छ्रे बैंकले एकदेखि ५ बर्षसम्मका लागि ब्याज साढे १२ प्रतिशत पुर्याएको हो । यसअघि संस्थागत निक्षेपमा प्रतिस्पर्धा चल्ने गरेको थियो । संघको निर्णयपछि ब्यक्तिगत निक्षेपमा प्रतिस्पर्धा शुरू भएको छ ।
माछापुच्छ्रे बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सीमित अवधिका लागि ब्याजदर बढाइएको बताए । उनका अनुसार आगामी पुस मसान्तमा सरकारलाई कर बुझाउँदा निक्षेप बाहिरिन सक्ने कुरालाई ध्यानमा राख्दै ऋण विस्तारका लागि स्रोत जुटाउन ब्याज बढाउनुपरेको हो ।
बैंकर्स संघले हिजो मंगलवारको बैठकमा चारवटा बैंकको दवावका कारण भद्र सहमतिमा लचकता अपनाएको थियो । विगतमा भद्र सहमति नहुँदा ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो ।