७ क्वीन्टल मरिचसहित वीरगञ्जका फर्म सञ्चालक नुनिया पक्राउ |
वीरगंज । पछिल्लो समय वीरगञ्ज भन्सार आसपासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि मरिच तस्करी रोकिएको छैन । हालै मात्र वीरगञ्जमा प्रहरीले विदेशबाट आयात गरी भण्डारण गरी राखेको अवस्थामा झण्डै ७ सय किलो मरिच बरामद गरेको छ । पर्सा प्रहरीले तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिने क्रममा गोप्य सूचनाका आधारमा विभिन्न फर्महरूमा छापा मार्दा उक्त परिमाणको मरिचसहित फर्म सञ्चालकलाई पक्राउ गरेको हो ।
हिजो मंगलवार पक्राउ पर्नेमा वीरगंज–१६ भस्वा भेडिहारीका राजेश महतो नुनिया रहेको पर्सा प्रहरीले बताएको छ । प्रहरीका अनुसार नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा मार्दा उक्त मरिमाणको मरिच फेला परेको हो । उनलाई तस्करी गरेको मरिचसहित पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
पर्सा प्रहरीको टोलीले भण्डारको खानतलासी लिँदा अवैध रूपमा भण्डारण गरी राखिएको मरिच बरामद गरी सञ्चालक नुनियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरीक्षक ढकालले बताए ।
तेस्रो देशबाट सस्तो मूल्यमा मरिच नेपाल ल्याई छिमेकी देश भारतमा महँगो मूल्यमा बेच्नका लागि मरिच तस्करहरूको गिरोह लागिरहेको प्रहरीको दाबी छ ।