प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा त्यति नै रकम थपेर कोष बनाइँदै | उक्त रकम विपन्न तथा दलित युवा विद्यार्थीको हितमा खर्च गरिने, कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत
काठमाडौं । सरकारले हालै मात्र एशिया प्यासिफिक समिटको आयोजकबाट प्राप्त गरेको ‘सुशासन अवार्ड’ को रकममा त्यति नै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीलाई उक्त समिटको आयोजक युनिभर्सल पिस फेडरेशनले १ लाख डलरबराबरको सुशासन अवार्ड प्रदान गरेको थियो । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए । प्रधानमन्त्रीकै चाहनाअनुसार अलग्गै कोष खडा गरी थप १ लाख डलर अर्थात नेपाली करिब १ करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको एक मन्त्रीले आर्थिक पाटीलाई बताए । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ ।
यसैबीच मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको छ ।