एनआईसी एशियाको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त | समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्फबाट उल्लेखनीय योगदान पुर्याउनेछु : नायब प्रमुख कार्यकारी अधिकृत पाण्डे
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका पाण्डेलाई हिजो बसेको बैंकको ३८०औं सञ्चालक समितिको बैठकले सो पदमा बढुवा गरेको हो । नवनियुक्त पाण्डेले हिजो सोमवारदेखि नै उक्त पदको जिम्मेवारी सम्हालिसकेका छन् ।
२०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रिण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेले यसघि विभिन्न बैंकमा काम गरिसकेका छन् । एनआईसी एशिया बैंकका विभिन्न विभागहरूमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालीन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने, ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि भन्ने बैंकको मूल नारालाई आत्मासात् गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्फबाट उल्लेखनीय योगदान पुर्याउनेछु ।’