६० दिनमा मेलम्चीको पानी आउने खानेपानी सचिवको दाबी |

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् । संघीय संसद प्रतिनिधिसभाको विकास समितिको बैठकमा मन्त्रालयका सचिवले सो कुरा बताएका हुन ।
सचिव ठाकुरले भने, ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस २ महिनामा मेलम्चीको पानी आउँछ ।’ विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् ।
निर्माणको काम सकिएपछि पानी जम्मा हुन ३ दिन लाग्ने भन्दै उनले त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने बताए । करिब २७ किमी लामो सुरुङमार्ग पाँच ठाउँबाट फिनिसिङ भैरहेको छ । दैनिक ९० मिटर फिनिसिङको काम भैरहेको छ ।
४० दिनमा सुरुङमार्ग फिनिसिङ सक्ने उनको दाबी छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनले तोकेको गुणस्तरको हुने आयोजनाको दाबी छ ।