बुटवलमा २५ किलो चरेससहित चार जना पक्राउ |
बुटवल । प्रहरीले बुटवलबाट २५ किलोग्राम चरेससहित चार जनालाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश ५ दाङबाट खटिएको प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले बुटवल उपमहानगरपालिका−९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका−११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन् ।
प्रहरीले तिलक, दिपेन्द्र र टोपेन्द्रबाट ६⁄६ किलो र प्रेमबाट ७ किलो गरी २५ किलो चरेस बरामद गरेको हो । उनीहरूले आधारआधा किलोग्रामका ५० लाप्सा बनाइ बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बुटवल क्षेत्रमा लागूऔषध चरेसको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।