निर्यात बढाउने गरी सरकारले काम गरेको छः अर्थमन्त्री खतिवडा |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार निर्यात बढाउने गरी अघि बढेकको बताएका छन् । आयात बढेकोमा चिन्ता नगर्न आग्रह गर्दै उनले निर्यात बढ्न नसक्नु चिन्ताको विषय भएको बताए ।
नेपाल आर्थिक पत्रकार समाजको २१ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासको एउटा चरणमा आयात गर्नै पर्ने धारणा राख्दै आयातबाटै फाइदा लिन कसरी सकिन्छ भन्ने तर्फ ध्यान दिनु पर्ने बताए । लामो द्वन्द्वले प्रतिस्पर्धात्मक क्षमता घटाएको तथा विजुली कटौती, यातायात खर्च वृद्धि लगायतका समस्याले निर्यातको वातावरण विथोलेको उनको विश्लेषण छ ।
अर्थमन्त्री खतिवडाले वाहिर हल्ला भएजस्तो धेरै कर नउठाएको बताउँदै कुल गाहस्र्थ उत्पादनको ३० प्रतिशत पनि कर नलिएको बताएका थिए । अर्थमन्त्री खतिवडाले विश्व बैंकले प्रकाशित गरेको ‘डुइङ बिजनेश’ रिपोर्टप्रति पुनः असन्तुष्टि जनाएका छन् । उनकाअनुसार सरकारले गम्भीर ध्यानाकर्षण गराएपछि रिपोर्ट पुनरावलोकनका लागि विश्व बैंकको मिसन काठमाडौंमा आएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले धेरै कर उठाएका कारण व्यवसाय गर्न कठिन भएको बताएकी थिइन । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले जिडिपीको २९ प्रतिशत कर उठाएको बताए ।
खड्का र योञ्जनलाई सेजन अवार्ड
सेजन अवार्ड छापाबाट नागरिक दैनिकका रुद्र खड्का र विद्युतीयबाट क्यापिटल नेपाल डटकमका सुवास योञ्जनले पाएका छन्। । स्वर्गीय पत्रकार सञ्जय न्यौपाने रिसर्च ग्रान्ट कारोबार दैनिकका भगवान खनालले पाएका छन्। । जलविद्युत फेलोसीप बिजमाण्डू डटकमका अरुण सापकोटा र अमर बडुवालले संयुक्त रुपमा पाएका छन्। ।