कसुवाखोला आयोजनाले गर्यो पीपीए |
काठमाडौ । कसुवाखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजना ४५ मेगावाट क्षमताको रहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोला जलविद्युत आयोजनाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस आयोजनाबाट २५९.५९२ गिगावाट विद्युत वार्षिक रुपमा उत्पादन हुने छ । यहाँबाट उत्पादित विद्युत कसुवा−तुमलिङटार १३२ केभी प्रशारणलाइन मार्फत तुमलिङटार सवस्टेशनमा जोडिने छ । आयोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापनका लागि कम्पनीले विभिन्न बैंक तथा वित्तियसंस्थासँग परामर्श गरिरहेको पनि कम्पनीले जानकारी दिएको छ ।
कसुवाखोला हाइड्रोपावर कम्पनीको मुख्य प्रवद्र्धक सीईडीबी हाइड्रो फण्ड लिमिटेडले यसअघि करिव ९ मेगावाटका ३ वटा आयोजना निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै ५ मेगावाटको रुकुमगाड, ११ मेगावाटको तल्लो खारेखोला र १२ मेगावाटको दोर्दी−१ को निर्माण गरिरहेको छ ।
कम्पनीले अहिलेसम्म निर्माण सम्पन्न गरेका र निर्माणाधिन सबै आयोजनाको क्षमताभन्दा ठूलो आयोजना निर्माण गर्न लागेको हो । ५१७ मिटर ग्रसहेड रहेको आयोजनाको भूमिगत विद्युत गृह निर्माण गर्नेगरी डिजाइन गरिएको छ ।
।