अब एक अर्बमाथिका उत्पादनमूलक कम्पनीले शेयर जारी गर्नु पर्ने | ऐनमा ब्यवस्था गरिँदै

काठमाडौं । एक अर्बमाथिका उत्पादनमूलक कम्पनीले शेयर जारी गर्नु पर्ने बाध्यकारी ऐन बनाइदै छ । कम्पनी रजिष्ट्रार कार्यालयले एक अर्ब रुपैयाँभन्दा माथि पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा शेयर निष्काशन गर्नै पर्ने व्यवस्थालाई कम्पनी ऐनमै समावेश गर्ने तयारी गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा एक अर्ब वा त्यसभन्दा बढिको पूँजीमा स्थापित सबै उत्पादनमुलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनीमा रुपानान्तरण भई पूँजी बजारमा सूचिकृत हुनु पर्ने व्यवस्था गरेका थिए । यसै कुरा लाई मध्यनजर गर्दै रजिष्ट्रार कार्यालयले कम्पनी ऐनलाई संसोधन गर्ने तयारी गरिरहँदा यस विषयलाई ऐनमा नै व्यवस्था गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र हाइड्रोपावर कम्पनीहरुलाई शेयर निष्काशन गर्न अनिवार्य गरिएको भए पनि उत्पादनमुलक कम्पनीहरुलाई भने शेयर निष्काशनको लागि अनिवार्य गरिएको छैन । यदि बजेटमा भएको व्यवस्था कार्यान्वयन हुने हो भने शेयर बजारमा उत्पादनमुलक कम्पनीको संख्या बढ्ने छ ।
बजेटमा भएको व्यवस्था अनुसार स्वेच्छिक रुपमा शेयर निष्काशन गर्न चाहनेलाई सहजीकरण गर्ने तर अनिवार्य रुपमै शेयर निष्काशन गर्नको लागि भने ऐनमा नै व्यवस्था हुँदा सहज हुने नेपाल धितोपत्र बोर्डको भनाई छ । यस व्यवस्थालाई कार्यान्वयन गर्ने नेपाल धितोपत्र बोर्डले तयारी कानुनमै समावेश गरिएमा सहज हुने राय व्यक्त गरेपछि कम्पनी ऐनमै व्यवस्था गर्न लागिएको हो ।
अर्थ मन्त्रालयले कानुन आयोगलाई अनुरोध गरेसँगै कम्पनी रजिष्ट्रार कार्यालयलले कम्पनी ऐनमै व्यवस्था गर्ने तयारी गरेको हो । कानुन आयोगले कम्पनी ऐनको संसोधन गर्नका लागि २४ वटा विषयबस्तुमा संसोधन गर्ने गरि मस्यौदा तयार पारिरहेको छ । मस्यौदा तयार भए लगत्तै हिउँदे अधिवेशनमा पेश गर्ने तयारी छ ।