लगातार दोस्रो बर्ष बैंक अफ द इयर २०१८ एनएमबी बैंकले पायो |
काठमाडौं । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०१८ को उत्कृष्ठ नेपाली बैंक घोषणा गरेको छ । एनएमबी बैंकले लगातार दोस्रो पटक पनि बैंक अफ द इयर अवार्ड जितेको हो । बैंकले २०१७ मा पनि यो अवार्ड जितेको थियो ।
बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले लण्डनमा आयोजित समारोहमा अवार्ड लिएका छन् ।
पत्रिकाले यो बर्ष करिव १४० देशका उत्कृष्ठ बैंकलाई अवार्ड दिएको जानकारी दिएको छ । एनएमबी बैंकले तीन बर्षअघि ४ संस्थालाई आफुमा गाभेर चुक्ता पूँजीमा एक सबल बैंकको रुपमा स्थापना भएको थियो । दुई बर्षअघि बैंकले नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकसँग सहकार्यको सम्झौता गरेको थियो ।
बैंकले अहिलेसम्मकै ठूलो प्रत्यक्ष वैदेशिक लगानी रहेको होङ्सी सिवम सिमेन्टमा नेतृत्व लिएर ऋण लगानी गरेको छ ।