एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ५०० रुपैयाँसम्म फिर्ता पाइने |
काठमाडौं । एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो । यो स्किम डिसेम्बरदेखि जनवरीसम्म लागू हुने छ ।
बैंकको ४ लाख ५० हजारभन्दा बढि भिसा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु छन्। यो स्किमबाट बैंकका सबै कार्ड होल्डरहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले देशभर रहेका आफ्ना २६८ शाखा कार्यालय, २७६ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । शाखा सञ्जालको हिसाबमा मुलुककै सबैभन्दा ठूलो बैंक एनआई एशियाको हालको वासलातको आकार रू. २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ ।
ग्राहक संख्या करिब १३ लाख ५० हजार रहेको सो बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय स्थापना गर्ने बताएको छ ।