अनलाईन कारोबार पछि अब डिजिटल हस्ताक्षर पनि प्रयोगमा आउने |
काठमाडौं । अब धितोपत्र बजारमा डिजिटल हस्ताक्षर पनि प्रयोगमा आउने भएको छ । शेयर बजारमा अनलाईन कारोबार प्रणली शुरु भएसंगै नेपाल धितोपत्र बोर्डले डिजिटल हस्ताक्षरको प्रयोगलाई कार्यन्वयनमा ल्याउने तयारी थालेको छ ।
बोर्डको बार्षिक कार्यक्रम अन्र्तगत सूचना प्रविधि नीति तर्जुमा भई डिजिटल हस्ताक्षर कार्यान्वयनमा ल्याउने क्रममा रहेको बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीको भनाई छ ।
विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए पछि यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षरको शुरुवात गर्नु आवश्यक रहेको कार्कीको भनाई छ ।
विद्युतीय हस्ताक्षर प्रयोगबारे बोर्डले धितोपत्र व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ । आगामी दिनमा बोर्डले नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकरहरुलाई समेत जानकारी गराउने बोर्डको तयारी छ ।
डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउन बोर्डले नेपाल सट्र्रिफाइङ्ग कम्पनीसँग साझेदारी गर्ने भएको छ ।