नेपाल र कम्बोडियाबीच हवाई सम्झौता | सातामा १४ उडान हुने, सांस्कृतिक आदानप्रदानसम्बन्धी सम्झौता पनि हिजै सम्पन्न
काठमाडौं । नेपालले कम्बोडियासँग हिजो बिहीवार हवाई सम्झौता गरेको छ । नेपाल र कम्बोडियाबीच सातामा १४ उडान गर्ने लक्ष्यसहित भएको उक्त द्विपक्षीय सम्झौतापत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षी हुन सेनको पनि उपस्थिति रहेको थियो । यो सम्झौतासमेत गरी हालसम्म नेपालले विभिन्न ३९ देशसँग हवाई सम्झौता गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुनेछ ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पुर्याउने विश्वास लिइएको छ ।
सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४÷१४ उडान हुनेछ । यस्तै, कार्गो सेवामा भने कुनै पनि शर्त लागू नहुने बताइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा रहेको र आगामी जेठ अन्तिम सातादेखि उडानयोग्य हुने भएकाले हवाई सम्झौता थप महत्वपूर्ण हुने सहसचिव आचार्यले बताए ।
कम्बोडियाका ९६ दशमलव ९० प्रतिशत नागरिकले बौद्ध धर्म मान्ने भएकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि समेत सम्झौता दूरगामी महत्वको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले बताए ।
उनले सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक प्रक्रिया शुरू गर्ने र दुवै देशका विमान सेवा प्रदायकबीच आवश्यक व्यवस्थापन गरिने बताए । कम्बोडियाले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नै उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको विमानस्थल आगामी जेठ मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र उनका कम्बोडियाली समकक्षी चुच फोयुमबीच सांस्कृतिक आदानप्रदान सम्बन्धी अर्को सम्झौता पनि भएको छ । उक्त द्विपक्षीय सम्झौतामा पनि हिजै हस्ताक्षर भएको छ । दुई देशका संस्कृतिको आदानप्रदान गर्न उक्त सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ ।