गेमराज गिरीको ‘केरा लैजाउँ……’ले ५ दिनमै ४० हजारभन्दा बढी दर्शक कमायो | ‘१२ हान्यो घडीको सुईले…..’ बोलको म्युजिक भिडियो पनि छिट्टै आउँदै
काठमाडौं । बर्दियाका उदीयमान एवम् प्रतिभाशाली गायक गेमराज गिरी फेरि नेपाली सांगीतिक दुनियाँमा देखा परेका छन् । यसअघि आधुनिक र पप गीतका म्युजिक भिडियो बजारमा ल्याएर वाहवाही कमाइसकेका गिरी स्टेज तताउने माहिर गायक भनेर चिनिन्छन् । अहिले गिरी ‘केरा लैजाउँ पावर, एकैनाशे गैजाउँ लाहोर’ बोलको म्युजिक भिडियो लिएर नेपाली सांगीतिक बजारमा आएका छन् ।
उक्त एल्बममा नेपालको पश्चिमी क्षेत्रमा निकै लोकप्रिय भाका टप्पा गीतलाई समेटिएको छ । नाचुँनाचुँ लाग्ने उक्त म्युजिक भिडियोका गीतले शुरूमै बजार तताउन थालिसकेको छ । उक्त म्युजिक भिडियोले यू ट्यूबमा राखिएको ५ दिनमै ४० हजारभन्दा बढी दर्शक बनाइसकेको छ ।
डान्सिङ मूडमै रहेको गेमराजको अघिल्लो सांगीतिक भेट ‘तिमी जवान, म नि जवान’ बोलको गीत पनि निकै चर्चित बनेको थियो । उनले गाएका थुप्रै आधुनिक र पप गीतहरू चर्चित बनिसकेका छन् । उनले पप, आधुनिक, गजल र लोकपप गरी ८९ वटा अडियो गीत समेत बजारमा ल्याइसकेका छन् ।
उक्त म्युजिक भिडियोमा समेटिएको टप्पा गीत गेमराजले आफ्नै मामा स्व. भूपेन्द्रप्रकाश गिरीको शब्द र संगीतमा रहेको गीतलाई रिमेक गरेर बजारमा ल्याएका हुन् । यो गीतमा स्वर गेमराज गिरीको रहेको छ भने अभिनयमा बर्दियाकी सुन्दरी अञ्जली अधिकारी र प्रकाश सपुतको दमदार नृत्य रहेको छ । नवीन घर्तीमगरको सम्पादनमा बनेको उक्त म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका छन् ।
मीठो स्वरका धनी गायक गिरीका आगामी दिनमा पनि थुप्रै गीतहरू आउने क्रममा रहेका छन् । उनले अब एक महिनाभित्रमै अर्को सांगीतिक कोशेली ‘१२ हान्यो घडीको सुईले…..’ बोलको म्युजिक भिडियो बजारमा ल्याउने जानकारी पनि दिए ।