विमानस्थलमा भीभीआईपी सवारीले नियमित उडान प्रभावित | भीभीआईपी आउनु १५ मिनेट अघि र ओर्लिएको १५ मिनेटपछिसम्म विमानस्थल बन्द
काठमाडौं । एशिया प्यासफिक समिटका लागि गरिएको सवारी व्यवस्थापनले गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित हुने भएको छ । भोलि शुक्रवारदेखि शुरू हुने उक्त समिटले गर्दा आजदेखि नै राष्ट्रिय र अन्तरराष्ट्रिय उडान प्रभावित हुने भएको हो ।
विमानस्थलका अनुसार आज बिहान ११ बजे म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र ११ः४० बजे कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेनसहितका उच्च पदाधिकारी नेपाल आउँदै छन् । उनीहरू आउनु १५ मिनेटअघि र विमानबाट ओर्लिएको १५ मिनेटपछिसम्म नियमित उडान हुँदैन ।
यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भीभीआईपीको फ्लाइट हुँदा विमानस्थलले उडानअघि र पछि गरेर आधा घण्टाका लागि आन्तरिक र अन्तरराष्ट्रिय उडान÷अवतरण बन्द गर्दै आएको थियो । विमानस्थलका अनुसार नियमित उडान प्रभावित हुने भएकाले यसबारेमा राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई कम्पनीहरूलाई पूर्व जानकारी दिइसकिएको छ ।
सम्मेलनमा विशिष्ट व्यक्तिको प्रतिनिधित्व रहने भएकाले उड्डयन व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशनअनुसार व्यवस्थापन गरिएको हो । सार्वजनिक तथा निजी सवारी साधनमा पनि सरकारले आजबाट १६ गतेसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिसकेको छ ।