पोखरामा विहीबारदेखि शुरू हुँदैछ ‘एक्स्पो पोखरा’ |
काठमाडौं । पोखरामा विहीबारदेखि ‘सफल एक्स्पो पोखरा’ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा मंसीर २४ गतेसम्म जारी रहनेछ ।
तेस्रो मोवाइल मेलासमेत जोडेर आयोजना गर्न लागिएको ‘सफल एक्स्पो पोखरा’को सम्पूर्ण तयारी पूरा भएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । एक्स्पोको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक्स्पोमा ३ सय स्टल रहने र सम्पूर्ण स्टल बुकिङ भइसकेको जनाइएको छ ।
एक्स्पोमा पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउन तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघको भनाइ छ ।
एक्सपोमा मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरु रहने जनाइएको छ । एक्स्पोमा पहिलोपटक छुट्टै औद्योगिक पेभेलियन राखिने भएको छ । औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगका स्टल रहने छन् ।
पोखरा पर्यटन परिषदसँगको सहकार्यमा स्टल राखेर पोखराका पर्यटकीय क्षेत्रहरुको जानकारी, एडभेञ्चर स्पोर्टससँग सम्बन्धित प्याराग्लाईडिङ्ग, बञ्जी जम्प, जीप फ्लयार, क्यानोनिङ, हट बेलुनलगायतबारे जानकारी दिइने उनले बताए ।
त्यस्तै होमस्टेको पनि स्टल रहने उनले उल्लेख गरे । यसैगरी एक्स्पोको अर्को आकर्षण भनेको मोवाइल मेला हो । मोवाइल वितरक संघ गण्डकीसँगको सहकार्यमा छुट्टै मोवाइल पेभेलियन राख्न लागिएको हो ।
एक्स्पोमा लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख सांस्कृतिक झाँकी र नाचहरुसहित हास्यव्यङ्ग्य कार्यक्रम हुने छ ।
एक्स्पोको प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ४० रुपैयाँ राखिएको छ । प्रवेश टिकटमा दैनिक पुरस्कार राखिएको छ भने अन्तिममा एक जनालाई बम्पर उपहार हिरो ड्युट स्कुटर प्रदान गरिने बताइएको छ ।