यस्तो छ अनलाईन कारोबारको कार्यतालिका |
काठमाडौं । नेपाल स्टक एक्चेञ्जले लगानीकर्तालाई अनलाईन कारोबार प्रणाली प्रभावकारी बनाउन कार्यतालिका सार्वजनिक गरेको छ ।कार्तिक २० गते देखि औपचारीक रुपमा संचालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रयोग गर्न पाउन पर्ने माग राख्दै लगानीकर्ताहरुले सोमबार नेप्सेमा धर्ना गरि दबाब दिएपछि नेप्सले कार्यतालिका सार्वजनिक गरेको हो ।
शेयर बजारका अन्दोलित लगानीकर्ताहरुलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मौखिक जवाफ दिएका थिए । तर पनि लगानीकर्ताहरु विश्वस्त नभएपछि नेप्सेले प्रेस विज्ञप्ती नै जारी गरी कार्यतालिका सार्वजनिक गरेको हो । अनलाईन कारोबार प्रणलीलाई सहज बनाउन चरणबद्धरुपमा कार्यतालिका सार्वजनिक गरेको नेप्सेको दाबी छ ।
नेप्सेले कार्यतालिका अनुसार मंसिर १६ गते अनलाईन कारोबार प्रणालीमा कारोबार गर्ने तरिका सिक्नका लागि लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउनेछ । त्यसपछि मंसिर २३ गते लगानीकर्तावाट प्राप्त हुने उचित सुझावहरुलाई समेत टीएमएसमा समावेश गरी धितोपत्र दलालसंग सम्झौता गरेका लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराउने नेप्सेले जनाएको छ ।
यस्तै पुस १७ गते देखि ब्रोकर कम्पनीसंग सम्झौता भएका लगानीकर्ताहरुलाई युजर नेम र पासवर्ड उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएर सम्पुर्ण प्रयोगकर्तालाई अनलाईन कारोबार प्रणाली खल्ला गरिने छ ।