एनआईसी एशिया बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
बैंकको मुलुकभर २६६ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । साथै कुल कर्जा करिब १४४ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।