तामाकोशीको आईपीओ बाँडफाँट, ४० र ५० कित्ता शेयर बाँडफाँट |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँट गरिएको हो । आबेदन परेका आईपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँट गरिएको हो ।
न्यूनतम ४० कित्ता बाँडफाँट गरिसकेपछि बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता शेयर फेरि गोलाप्रथाबाट बाँडाफाँट भएको छ । रितपूर्वक दिएका मध्ये १ लाख ७२ हजार ७७५ जनालाई ग्रोलाप्रथाबाट १० कित्ता थप गरिएको छ । यसरी १ लाख ६१ हजार ३०० जना आवेदकले ४० कित्ताका दरले र १ लाख ७२ हजार ७७५ जनाले ५० कित्ताको दरले सेयर पाएका छन् । यो आईपीओमा ५ हजार ७०० जनाको आवेदन रद्द भएको छ । कुल १२ लाख ९८ हजार ९५० कित्ताका लागि परेको आवेदन रद्द भएको हो ।
कम्पनीले कुल १० अर्ब बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्रीको सबै प्रक्रिया पूरा भएको जानकारी दिँदै कम्पनीले अब निकट भविष्यमा नै कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने समेत जनाएको छ ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने भएको छ ।