माथिल्लो तामाकोशीको शेयर बाँडफाँट आज मध्यान्ह ३ बजे, सबैको भागमा शेयर पर्ने सम्भावना |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको आईपीओ आज मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्याङ्क्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिएका हुन् ।
आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि शेयर जारी गरिसकेको छ । सर्वसाधारणका लागि जारी गरेको उक्त कम्पनीको साधारण शेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । मंसिर पहिलो साताभित्रै बाँडफाँट गर्ने आयोजनाको तयारी भए पनि पहिलो चरणमा आवेदन दिएकाले त्यसलाई काँटछाँट गर्न समय लागेका कारण आज बाँडफाँट गर्न लागेको हो ।
४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाले दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ । आयोजनाका अनुसार आवेदन रद्द नभएका सबैको भागमा शेयर पर्ने सम्भावना रहेको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाको भनाइ छ ।