योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि लागू | प्रथम सामाजिक सुरक्षा दिवस, नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली
काठमाडौं । सरकारले आजदेखि सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबी गर्दै ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देशसमेत दिएका छन् । उक्त सन्देशमा प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘आज मंगलवारदेखि सामाजिक सुरक्षा योजना लागू भएको छ, मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ । त्यही प्रतिवद्धताअनुरुप श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैदेखि प्रवेश गरेका छौं ।’
सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा उनले सबै देशवासीलाई सुरक्षित भविष्यको शुभकामनासमेत दिएका छन् । आज पहिलो पटक मनाउन लागिएको सामाजिक सुरक्षा दिवसमा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजना शुभारम्भ गर्दै छन् ।
यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भएको बताएका छन् । उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवालालाई सहयोगका लागि अपिल गरेका छन् ।