भरतपुरमा लघु उद्योग ग्राम स्थापना हुँदै |
चितवन । भरतपुर महानगरपालिकाले लघु उद्योग ग्राम स्थापना गर्ने भएको छ । मझौला उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले महानगरको पश्चिम क्षेत्रका वडामा उपयुक्त जग्गा छनोट गरी उद्योग ग्राम सञ्चालन गर्न लागिएको महानगरपालिकाले बताएको छ ।
महानगरकी प्रमुख रेनु दाहालले कम्तीमा १० बिघा क्षेत्रमा ग्राम स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिइन् । उनका अनुसार चालू आवमा एउटा ग्राम स्थापनाका लागि रू. ४० लाख विनियोजन गरिएको छ । सार्वजनिक जग्गामा बिजुली, पानी, बाटो, शौचालय लगायतका पूर्वाधार महानगरपालिकाले निर्माण गर्नेछ । अन्य आवश्यक संरचना उद्योग सञ्चालक आफैंले गर्ने गरी काम अघि वढाउन लागिएको छ ।
उद्योग ग्राम स्थापनासँगै उक्त क्षेत्रमा छरिएर रहेका मझौला उद्योग एकै ठाउँमा हुनेछन् । उद्योगबाट हुने प्रदूषणबाट स्थानीयवासी प्रभावित नहुने गरी ग्राम स्थापना गरिनेछ । हाल चर्को ध्वनि, धूवाँलगायतका समस्याले मझौला उद्योग जहाँतहीँ सञ्चालन गर्न कठिनाइ हुने गरेको छ ।
प्रमुख दाहालले भनिन्, ‘उद्योग ग्रामको प्रभावकारिता हेरेर क्रमशः विस्तार गर्दै लगिनेछ, उद्योग सञ्चालन गर्न चाहनेलाई थोरै भाडामा महानगरले स्थान उपलब्ध गराउनेछ । सो ठाउँमा नयाँ पुराना सबै खालका उद्योग स्थापना गर्न सकिनेछ ।’