रुसद्वारा युक्रेनका दुई डुंगा र एक पानीजहाज कब्जा | युक्रेनी राष्ट्रपतिद्वारा उक्त घटनाको आलोचना, मार्शल ल लागू गर्ने तयारी

काठमाडौं । अहिले रुस र युक्रेनबीच तनाव अझ बढ्दै गएको छ । रुसले क्रिमिया प्रायःद्वीपनजिक युक्रेनी नौसैनिक जहाजहरूमाथि आक्रमण गरी तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि दुवै देशबीच तनाव बढेको हो ।
रुसले युक्रेनी जहाज गैरकानुनी रूपमा आजोव सागरस्थित आफ्नो सीमामा घुसेकाले आक्रमण गरेको दाबी गरेको छ । आजोव सागर रुस र युक्रेनमा पर्दछ । रुसले आक्रमण गरेपछि युक्रेन पनि रुष्ट भएको छ । उक्त घटनापछि युक्रेनका राष्ट्रपति पेट्रो पारोशेन्कोले रुसको ‘सन्की कदम’ भनेर आलोचना गरेका छन् । त्यसबारे छलफल गर्न उनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक पनि आह्वान गरेका छन् ।
साथै ‘वार क्याबिनेट’को आकस्मिक बैठक पनि बोलाइएको युक्रेनी राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ । यस घटनाबाट युक्रेनमा मार्शल ल (सैन्य कानुन) लागू गर्ने तयारी भइरहेको छ । युक्रेनको संसद्मा यसमा आज भोटिङ हुन सक्ने बीबीसीको समाचारमा उल्लेख छ ।
युक्रेनद्वारा जारी विज्ञप्तिमा लेखिएअनुसार रूसका विशेष सुरक्षा बलले बन्दुक राखिएका युक्रेनका दुई डुंगा र डुंगालाई तान्ने एक जहाजलाई लखेट्दै आक्रमण गरेर कब्जामा लिएका हुन् । यस घटनामा जहाजका ६ जना सदस्य घाइते पनि भएका छन् । युक्रेनको यो भनाइमा रुसको अझैसम्म कुनै प्रतिक्रिया आएको छैन । त्यसअघि रुसले युक्रेनका जहाज गैरकानुनी रूपमा आफ्नो सिमानामा छिरेकाले कब्जामा लिएको बताएको थियो ।
युक्रेनले भने रुसले निकोपाल र बर्डियान्सक नामका ‘गन बोट’मा आक्रमण गरेर कब्जामा लिएको बताएको छ । यसअघि रुसले युक्रेनका पानी जहाजमा निगरानी गर्न दुई लडाकु विमान र दुई हेलिकोप्टर तैनाथ गरेको थियो । (स्रोत : एजेन्सी)