निर्माण व्यवसायी संघ पप्पुको पक्षमा | ‘कानूनले नदिएको अधिकार प्रयोग गरी ठेक्कामा रोक लगाइयो’

काठमाडौं । हरेक ठेक्कापट्टामा लापरबाही गरेको आरोप खेप्ने गरेको पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने सरकारी निर्णयप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गर्दै प्रचलित कानूनले नदिएको अधिकार प्रयोग गरी सरकारले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको भन्दै आपत्ति जनाएको हो ।
महासंघले कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रकाशित गर्नु प्रचलित कानुनविपरीत भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक खरिद कार्यमा सहभागीसमेत हुन नपाउने कार्यालयको सूचना नै प्रचलित सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत छ ।’
सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाइ आयोजनाले डुडुवा नहर निर्माणमा ढिलाइ गरेको भन्दै कालो सूचीमा राख्न गरेको सिफारिशअनुसार कोस्टल पप्पु जेभीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो ।
कालो सूचीमा परेको कम्पनीले कुनै पनि नयाँ ठेक्कामा भाग लिन पाउँदैन । यस सन्दर्भमा कार्यालयले सार्वजनिक सूचना नै जारी गरी उक्त निर्माण कम्पनीलाई कुनै पनि नयाँ सार्वजनिक खरिदमा सहभागी नगराउन आग्रह गर्दै पत्राचारसमेत गरेको थियो ।
महासंघका महासचिव रोशन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिनाकारण पप्पुलाई नयाँ ठेक्का नदिन पत्राचार गरिएको र यस्तो कदमले देश नै असफलताको बाटोमा पुग्ने दाबी गरिएको छ ।
