औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गरियोस् : राणा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले औद्योगिक व्यवसाय ऐन समयसापेक्ष हुने गरी तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी छन् । उनले उद्योग दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा बोल्दै त्यस्तो माग गरेकी हुन् ।
सो अवसरमा उनले उद्योग व्यवसाय फस्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप लगाउँदै भन्सार छुटलगायतका सुविधा नदिएर सरकारले व्यावसायिक वातावरण बनाउन नसकेको तर्क राखिन् ।
अध्यक्ष राणाले चुलिँदो व्यापारघाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरिन् । उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापारघाटा न्यूनीकरणमा जोड दिन ढिलाइ गर्न नहुने उनको सुझाव थियो ।
मुलुकलाई समृद्ध बनाउने नारालाई साकार बनाउन पनि उत्पादनमूलक उद्योग फस्टाउने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष राणाको भनाइ थियो ।