वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी कार्यक्रममा एनआईसी एशियाको सहकार्य | सबै वाणिज्य बैंकलाई सहुलियत कर्जा विस्तार गर्न डेपुटी गभर्नरको आग्रह
काठमाडौं । नेपाल बैंकर्स संघको आयोजना तथा एनआईसी एशिया बैंकको सहयोग तथा सहकार्यमा तेह्रथुम जिल्लाको म्याग्लुङ बजारमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी प्रमुख अतिथि र नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना विशेष अतिथि रहेको उक्त कार्यक्रम ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा जानकारी गराउने उद्देश्यले गत शुक्रवार आयोजना गरिएको बैंकले बताएको छ ।
नेपाल राष्ट्र बैंकले हालै ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गरेसँगै बैंकर्स संघले यस्तो कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यविधिमा शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरूको निजी आवास निर्माण ऐवम् व्यावसायिक कृषि तथा पशुपक्षीका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाहरूमा ब्याज अनुदान दिइने व्यवस्था गरिएको छ ।
तीन जनाले कार्यक्रमस्थलमै पाए सहुलियतपूर्ण कृषि कर्जा
कार्यक्रममा एनआईसी एशिया बैंक म्याङलुङ शाखाबाट तीन जना ग्राहकलाई व्यावसायिक कृषि परियोजनाअन्तर्गत सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । सो अवसरमा कर्जा पाउने तेजबहादुर बस्नेत, विष्णुप्रसाद सुवेदी र नरेन्द्रकुमार सुब्बालाई प्रमुख अतिथि एवम् वरिष्ठ डेपुटी गर्भनर शिवाकोटी र विशेष अतिथि एवम् बैंकर्स संघका अध्यक्ष ढुंगानाले संयुक्त रूपमा कर्जा सुविधा प्रस्तावपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा म्याग्लुङ बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक तथा जनता बैंकका शाखा कार्यालयबाट समेत ग्राहक कर्जा सुविधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।
प्रमुख अतिथि शिवाकोटीले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना भएको यस्तो कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एनआईसी एशियालाई धन्यवाद दिए । उनले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र विकासमा थप योगदान पु¥याउन वाणिज्य बैंकहरूलाई विशेष आग्रहसमेत गरे । बैंकर्स संघका अध्यक्ष ढुंगानाले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ क्षेत्रबाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।