काठमाडौं महानगरपालिकाको ‘सुन्दर काठमाडौं’ अभियान शुरू | शहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारको पनि सहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको नालीमा बनाइएका अनावश्यक र्याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफा गर्ने कामको थालनी गरेको छ । महानगरपालिकाले गत कात्तिक २९ गते शहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेअनुरुप आज शहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ पुग्ने कार्यक्रमको थालनी गरेको हो ।
आज बिहानै झुल्के घामसँगै शान्तिबाटिकाबाट शुरू भएको अभियान बागबजार, डिल्ली बजार, मैतिदेवी, पुरानोबानेश्वर हुँदै सिनामंगल पुगेर टुंगिएको थियो । सो खण्डको सडकका धूलो, हिलो निकाल्नुका साथै ढलहरूको सफाइ पनि गरिएको थियो । शान्तिबाटिकामा अभियानको आरम्भ गर्दै मेयर विद्यासुन्दर शाक्यले यसलाई निरन्तरता दिने घोषणा पनि गरे ।
उनले चुनावी अभियानका क्रममा काठमाडौंलाई धूलो धूवाँमुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए । मेयर शाक्यले चुनावी अभियानकै क्रममा मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डीहरू पुर्ने र विशेष प्रविधिको प्रयोग गरी धूलो तथा खाडलरहित काठमाडौं निर्माण गर्ने योजना आफूसँग भएको पनि बताएका थिए ।

महानगरले यसअघि नै विभिन्न ठाउँमा ग्रिनरी मेण्टेन गर्ने, कतिपय ठाउँमा ‘आइल्याण्ड’ बनाएर त्यहाँ पानी हाल्ने काम गरिरहेको छ । महानगरपालिकाले धूलो उठाउन सहज होस् भनेर पाँचवटा बु्रमर खरीद प्रक्रियालाई समेत अघि बढाएको छ ।
कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।