माथिल्लो तामाकोशीको आईपीओ मंगलवार बाँडफाँट हुँदै | दोहोरो आवेदन भरेका ६ हजारले शेयर नपाउने
काठमाडौं । माथिल्लो तामाकोशीको प्राथमिक शेयर मंसिर ११ गते मंगलवार बाँडफाँट हुने भएको छ । आयोजनले कात्तिक १५ गतेदेखि १९ गते सम्म आईपीओ निष्काशन गरेको थियो । तामाकोशीको शेयर बिक्री प्रबन्धकले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो ।
सर्वसाधारणको लागि निष्काशन गरिएको आइपिओमा तीन लाख ४६ हजार १६६ जनाले ६ अर्ब ७० करोड रुपैयाँको लागि आवदेन दिएका थिए । ६ हजार आवेदकको आवेदन रद्ध भएसँगै अधिकतम ५० कित्ता शेयर पाउनेको संख्या बढ्ने भएको छ ।
कम्पनीले १ करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर सर्वसाधाणको लागि निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणतर्फ एक करोड ५८ लाख ८५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात ७ लाख ९४ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ ।
यसअघि सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, र आयोजना प्रभावित स्थानीय बासिको शेयरमा आवेदन गरिसकेका शेयरधनीले पनि आवेदन गरेका कारण तथ्याङ्क भेरिफिकेशनका कारण समय लागेकाले शेयर बाँडफाँड पछाडि धकेलिएको थियो ।
आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले गरेका छन्। । बिक्री प्रबन्धककका अनुसार दोहोरो आवेदन गर्नेहरुको आवेदन स्वत रद्ध हुनेछ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका नभएका आवेदक पनि शेयर प्राप्त गर्नबाट बञ्चित हुनेछन् ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने भएको छ ।