माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्रै सो मात्राको लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ र साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेको छ ।
बैंकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, ३८ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १२६ स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकका देशभर १०५ वटा एटीएम काउण्टर सञ्चालनमा रहेका छन् ।