८८ किलो सुन तस्करी प्रकरणका मुख्य तीन अभियुक्तलाई ५ वर्ष कैद र साढे ४३ करोड जरिवाना |
काठमाडौं । ०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा काठमाडौं जिल्ला अदालतले मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई सफाइ र मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले यही मंसिर ४ गते मुख्य अभियुक्त भनिएका याङ वइमिङ र पान वइमिङ तथा भरियाका रूपमा रहेका सवारी चालक मनोज अधिकारीलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका दुई चिनियाँ नागरिक भने अझै फरार रहेका छन् । उनीहरुलाई अदालतले जनही ५ वर्ष कैद र ४३ करोड ७० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । सुनसँगै पक्राउ परेका सवारीचालक मनोज अधिकारीलाई भने तीन वर्ष कैदको सजाय सुनाइएको छ । जिल्ला अदालतकै थुनछेक आदेशले उनी अझैसम्म थुनामै रहेका छन् । उनलाई पनि मुख्य अभियुक्तसरह जरिवाना तोकिएको छ ।
गतवर्षको भदौमा रसुवा नाकाहुँदै काठमाडौं भित्र्याइएको अवैध ८८ किलो सुन काठमाडौंको क्षेत्रपाटीमा बरामद गरिएको थियो । काठमाडौं जिल्ला अदालतका रजिस्ट्रार कृष्णप्रसाद नेपालले मुद्दामा आंशिक ठहर भएको बताए । नेपालले मुख्य अभियुक्त र एक सवारी चालकलाई अदालतले दोषी ठहर गरेको बताए । अन्य प्रतिवादीको हकमा सफाइ भएको उनले जानकारी दिए ।
अभियुक्त बनाइएका हिसे लामा, हिसे साङ्वा तामाङलगायतले सफाइ पाएका हुन् । यस्तै, मुख्य अभियुक्त मानिएका चिनियाँ व्यापारीसँगको सम्बन्धका आधारमा मुद्दा चलाइएका सुन व्यापारीहरूले पनि सफाइ पाएका छन् ।