मंसिर १९ गतेदेखि आईसीपीको परीक्षण सञ्चालन गर्न भारतको अनुमति | आईसीपीमा खाली ट्याङ्कलरी र ट्रक मात्र फर्कने, नेपालतर्फको आईसीपीको संरचना बन्न अझै २ वर्ष लाग्ने
विराटनगर । विराटनगरस्थित एकीकृत जाँचचौकी (आईसीपी) को परीक्षण सञ्चालन मंसिर १९ गतेदेखि शुरू हुने भएको छ । भारतको विदेश मन्त्रालयले डिसेम्बर ५ तारिखदेखि मात्र आईसीपीको परीक्षण सञ्चालन गर्न अनुमति दिँदै नेपालमा अनलोड गरेर फर्केका ट्रक र पेट्रोलियम पदार्थका ट्याङ्कलरीलाई मात्र साँझ ७ देखि बिहान ७ बजेसम्म आईसीपीको बाटो प्रयोग गर्न दिने गरी परिपत्र गरेको छ ।
नेपालबाट फर्कने खाली ट्रकको संख्या दैनिक २ सय र ट्याङ्कलरी ८० वटा हुने ट्रान्स नेपालका प्रबन्धक गणेश घिमिरेले जानकारी दिए । खाली गरिएका ढुवानीका साधन आईसीपीको बाटो हुँदै जोगवनी थानासम्म निस्कन सक्ने हुँदा जामको समस्या आंशिक रूपमा समाधान हुने घिमिरेको दाबी छ ।
नेपालबाट दैनिक रूपमा फर्कने ग्यासका बुलेट १० देखि १५ वटा र कन्टेनर बोकेका लरी झण्डै १ सय ५० को संख्यामा छन् । विराटनगर भन्सारका सूचना अधिकृत मणिराम पौडेलले फर्कने मालवाहक ट्रक र ट्याङ्कलरीको दर्ता गर्न नेपालतर्फ सानो कार्यालयको निर्माण भइरहेको बताए । उनका अनुसार मङसिर १९ गतेदेखि मालवाहक सवारी फर्काउने हिसाबले निर्माण भइरहेको छ ।
यसअघि कात्तिक महिनाको अन्तिम सातामा नेपाल–भारत समन्वय समितिको जिल्लास्तरीय बैठकले भारतबाट आईसीपीको बाटो हुँदै बल्की कार्गो, ग्यासका बुलेट र पेट्रोलियम पदार्थका ट्याङ्कलरी नेपाल ल्याउने र सबै प्रकारका खाली मालवाहक सवारी छाड्न बैठकले सहमति गरेको थियो । सीमावर्ती भारतीय जिल्ला अररियाका समकक्षी प्रमुखसमेत बैठकमा सहभागी थिए ।
तर उक्त बैठकको निर्णयलाई भारतीको विदेश मन्त्रालयले स्वीकृति दिएको छैन । उक्त मन्त्रालयले खाली ट्रक र ट्याङ्कलरी मात्र फर्कन पाउने गरी स्वीकृति दिएको छ । आईसीपीसम्म आइपुग्ने रेलमार्गको उद्घाटन मंसिर २६ गते गरिने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट रेलमार्गको उद्घाटन गर्ने समाचार भारतीय पत्रपत्रिकाले प्रकाशित गरेका भए पनि भारतीय सरकारी पक्षले यसको पुष्टि गरेको छैन ।
नेपालले जमिन ढिलो गरेर उपलब्ध गराएको हुँदा यतातिरको आईसीपीको संरचना अझै निर्माण सम्पन्न गर्न बाँकी नै छ । संरचना पूरा हुन अझै २ वर्ष लाग्ने बताइएको छ । भारततर्फको आईसीपीको संरचना तयार छ ।