डडेल्धुराको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने १८ जनाको सनाखत | १३ जनाको उपचार डडेल्धुरामा हुँदै, ११ जनाको कैलाली रिफर, दुई जनाको डिस्चार्ज
डडेल्धुरा, (अमरगढी) । डोटीको शिखर नगरपालिका बानीडुग्री सैनस्थित पिसजोन एकेडेमीको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । अमरगढी नगरपालिकाको उग्रतारा मेलाबाट फर्किंदा अमरगढी नगरपालिका र डोटीको शिखर नगरपालिकाको सिमानामा पर्ने भीरबाट खसेर उक्त बस दुर्घटनाग्रस्त हुँदा १८ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटीको शिखरनगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शंकर जोरा, सोही नगरपालिका–८ का २२ वर्षीय शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिकाका २८ वर्षीय नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका– ४ की ३५ वर्षीया शशी विक, शिखर नगरपालिका ११ की २५ वर्षीया गोदा भाट, सोही नगरपालिका–८ मा बस्ने ४० वर्षीय कैलाश रावल र योगेन्द्र रावल रहेका छन् ।
त्यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–३ की ३० वर्षीया माया रावल, कैलाली गोदावरी नगरपालिका १० बस्ने पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ का १७ वर्षीय तिलक खाती, सोही ठाउँका ३० वर्षीय तेज धामी, डोटीको शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ का २४ वर्षीय पदम विकको ज्यान गएको छ ।
ज्यान गुमाएकाहरूको पोष्टमार्टम डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । बस दुर्घटनामा घाइते भएका २६ जनामा ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् । अन्य १३ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।