लाइसेन्सको आवेदन आजदेखि खुल्यो | अनलाइन आवेदन भर्न www.dotm.gov.np मा लगइन गर्नुपर्ने
काठमाडौं । नेपाल सरकार, यातायात व्यवस्था विभागले झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्ला गर्दै छ । चाडपर्वका कारण बन्द रहेको अनलाइन आवेदन फारम आज बिहान १० बजेदेखि खुल्ला गरेको हो ।
आवेदकले आज बिहान १० बजेपछि विभागको वेबसाइटमा गएर फारमहरूभित्र रहेको अनलाइन सवारी चालक अनुमतिपत्र क्लिक गरी अनलाइन फारम भर्न सक्ने विभागले बताएको छ ।
विभागका इञ्जीनियर केशवराज गौतमले पुरानो वेबसाइट सिंहदरबारस्थित सरकारी डाटा सेण्टरमा सारिएकाले उक्त वेबसाइट नखुल्ने तथा अनलाइन आवेदन भर्नका लागि सिधै डब्लूडब्लूडब्लू डट डीओटीएम डट जीओभी डट एनपी (www.dotm.gov.np) मा लग इन गर्नुपर्ने जानकारी दिए ।
हाल लाइसेन्सका लागि स्वयम्भूको ठूलो भर्याङ, चाबहिल, सुकेधारा, ललितपुरको एकान्तकुना, भक्तपुरको जगाती गरी चार स्थानबाट अनलाइन आवदेन भर्न सकिने विभागले जानकारी दिएको छ ।
विभागका अनुसार आवदेकले मोटरसाइकल, स्कुटर, कारजीपको आवदेन दिन सक्नेछन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरिसकेको छ । तर, छपाइको काम सुस्त हुँदा हालसम्म ट्रायल पास गरेकाले पनि लाइन्स पाउन सकेका छैनन् । ट्रायल पास गरेको वर्ष दिनसम्म पनि स्मार्ट लाइसेन्स नपाउनेको संख्या ६ लाखभन्दा बढी छ ।
विभागले पेण्डिङमा रहेका लाइसेन्सको छपाइ छिटो सक्न निजी कम्पनी मालिका ई–कर्पोरेशनलाई जिम्मा दिए पनि उक्त कम्पनीले पर्याप्त कार्ड छपाइ गरी उपलब्ध गराउन सकेको छैन ।