मिथिला लघुवित्तद्वारा एकै दिन दुई नयाँ शाखा सञ्चालन |
जनकपुर । धनुषाको ढल्केवरमा प्रधान कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकै दिन दुई शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले धनुषा जिल्लाको सबैला नगरपालिकास्थित खरिहानी र हंशपुर नगरपालिकास्थित हंशपुरमा गरी थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
खरिहानी शाखाको उद्घाटन सबैला नपाका नगर प्रमुख विजयशंकर प्रसाद साह र संस्थाका अध्यक्ष शिवप्रसाद साहले संयुक्त रूपमा तथा हंशपुर शाखाको हंशपुर नपाका नगर प्रमुख रामज्ञान मण्डल र संस्थाका अध्यक्ष साहले हिजो बुधवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत, सम्बन्धित वडाका वडा अध्यक्ष, समाजसेवी तथा बुद्धिजीवीहरू, वित्तीय संस्थाका अध्यक्ष तथा सञ्चालकज्यूहरू, संस्थापक शेयर धनीहरू, कर्मचारी तथा ग्राहक सदस्यहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत राउतले ग्रामीण क्षेत्रका गरिब जनतालाई उनीहरूको घरदैलोमा गई वित्तीय सेवा सुविधा प्रदान गर्न गाउँमा संस्थाको शाखा खोलिएको र यो क्रमलाई विस्तार गरी अझ दुर्गम र ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए ।
संस्थाका विभागीय प्रमुख रेशमप्रसाद बाँस्तोलाले सञ्चालन गरेको उक्त कार्यक्रममा वक्ताहरूले वित्तीय संस्थाहरू शहरकेन्द्रित भइरहेको वर्तमान परिप्रेक्ष्यमा मिथिला लघुवित्त वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी निम्न वर्गका सर्वसाधारणलाई वित्तीय पहुँचमा ल्याउन र स्वरोजगार बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उद्घाटन भएका ती दुई नयाँ शाखासहित अब संस्थाको शाखा संख्या २३ पुगेको छ । हालसम्म संस्थाले १७ हजार लक्षित ग्राहक सदस्यहरूमार्फत रू. ६९ करोड लगानी गरी रू. १८ करोड बचत गर्न सफल भएको छ । चालू आवको पहिलो त्रैमासमा गतवर्षको सोही अवधिको भन्दा दोब्बर बढी नाफा आर्जन गर्न संस्था सफल भएको छ ।