आईएमई जनरल इन्स्योरेन्सको नाफा २ करोडभन्दा बढी |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैयाँ आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चंदा उक्त परिमाणको नाफा आर्जन भएको हो ।
एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय गरी कुल ४४ करोड ५५ लाख ९३ हजार आम्दानी र दाबी भुक्तानी, अभिकर्ता कमिशन, पुनर्बीमा कमिशन, सेवा शुल्क, व्यवस्थापन शुल्कजस्ता शीर्षकहरूमा कुल ४१ करोड ५४ लाख ५६ हजार खर्च गरेको छ । यो खर्च इन्स्योरेन्सले छुट्याएको जोखिम तथा अन्य व्यवस्थाबाट गरिएको हो ।
अघिल्लो वर्ष शाखा एवम् बजार विस्तारमा आक्रामक नीति लिएको यस कम्पनीसँग हाल २० हजार ३ सय ८७ बीमितहरू रहेका छन् । उक्त वृद्धिदर अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३३ प्रतिशतले बढी हो । त्यसमध्ये २ हजार २ सय २७ जनाले बीमालेख नवीकरण गरेको उल्लेख गरिएको छ ।
कम्पनीले तीन महिनाको अवधिमा ५६० बीमितलाई ७ करोड ३२ लाख ६३ हजार दाबी भुक्तानी गर्दा अब इन्स्योरेन्ससँग १४ सय ८६ बीमितका २३ करोड १६ लाख ९७ हजार रुपैयाँबराबरका मागदाबी विचाराधीन अवस्थामा रहेका छन् ।
यस कम्पनीको प्रतिशेयर आम्दानी १९.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३८ प्रतिशेयर नेटवर्थ १५९.३३ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्ति मूल्य २९१.१५ रुपैयाँ छ । हाल ५४ करोड चुक्ता पूँजी छ भने जगेडा कोषको आकार १३ करोड ९३ लाख छ ।