आगामी साताबाट शेयरबजारमा ʽरियल अनलाइन ट्रेडिङʼ |
काठमाडौं । आगामी साताबाट प्रत्यक्ष रुपमा सहभागि भएर लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत शेयर खरिदबिक्री गर्न पाउने भएका छन् । गत कार्तिक २० गतेदेखि ब्रोकरको सहयोगबाट कारोबार गर्दे आएका लगानीकर्ताले अब आफ्नै हातबाट शेयर किनबेच गर्न सक्नेछन् ।
स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले अर्को साताबाट शेयरबजारका लगानीकर्ता आफै अनलाइन कारोबारमा संलग्न हुन पाउने जानकारी दिएको छ । यो साताभर अनलाइन कारोबार प्रणालीमा देखिएका समस्याहरु समाधान भईसक्ने र अर्को साताबाट लगानीकर्तालाई प्रत्यक्ष रुपमा संलग्न गराइने तयारी भईरहेको बताइएको छ । शुक्रबार नेप्सेसँग छलफल गरेर मिति तय गरिनेछ ।
कसरी गर्ने अनलाइन कारोबार ?
शेयर बजारका लगानीकर्ताले प्रत्यक्ष रुपमा अनलाइन कारोबारमा सहभागि हुन सबैभन्दा पहिला आफ्नो केवाइसी अपडेट गर्नुपर्छ । पुरानो कारोबार प्रणाली ९सीटीएस० मा विवरण अपडेट गराए पछि मात्र लगानीकर्ताले युजर र पासवर्ड प्राप्त गर्नेछन् ।
त्यसको प्रयोगबाट लगानीकर्ता आफै अनलाइन कारोबारमा सहभागि हुन पाउँछन । तर त्यो भन्दा अगाडि लगानीकर्ता र ब्रोकरबीच अनलाइन कारोबार सम्बन्धिको सम्झौता गर्नुपर्ने बताइएको छ ।
अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित विनियमावलीको आधारमा ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेछ ।