खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा दास |
काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले हिजैदेखि पद बहाली ग्रहण गरेका छन् ।
पद बहाली ग्रहण गर्दै नवनियुक्त महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । केही साना तथा ठूला आयोजनालाई अघि बढाउने कार्यमा आफू लागिपर्ने उनले बताए । २०७१ फागुनदेखि विभागको उपमहानिर्देशकमा कार्यरत दासले २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर शुरू गरेका हुन् ।
उनीसँग १४ वर्षसम्म उक्त क्षेत्रमा इञ्जिनीयरको रूपमा काम गरेको अनुभव छ । ८ वर्षजति उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल इञ्जिनीयरको रूपमा काम गरे ।
खानेपानी मन्त्रालयअन्तर्गत सहलगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरेका उनले अधिकारसम्पन्न बागमती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनामा समेत काम गरिसकेका छन् । उनले ३ वर्षसम्म ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रूपमा काम गरिसकेका छन् ।