कपडा उद्योगीले जति घुर्की लाए पनि भ्याट फिर्ताको माग पूरा हुँदैन : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले २ सयभन्दा बढी कपडा उद्योगीहरूले व्यवसाय गर्न नसकिने भन्दै कपडा उद्योग नै बन्द गरेर भ्याट फिर्ताको माग राख्दै आएकोमा आफ्नो कार्यकालभर त्यस्तो कुनै पनि छुट नदिने घोषणा गरेका छन् । उनले राजधानीको गैरीधारास्थित एक होटलमा हिजो बुधवार आयोजित ‘कर सुधार आजको अपरिहार्यता’ विषयक कार्यक्रममा कपडा उद्योगीले जति घुर्की लाए पनि भ्याट फिर्ताको माग पूरा नगरिने चेतावनी दिएका हुन् ।
उनले विश्वको कुनै पनि देशमा प्रचलनमा नरहेको भ्याट फिर्ता प्रणाली ल्याएर देशको ढुकुटी रित्याउने कामलाई सरकारले निरन्तरता नदिने बताएका छन् । भ्याट छुटका लागि कपडा उद्योगीहरूले उद्योग बन्द गरेर घुर्की लगाएको उनको भनाइ थियो । सो अवसरमा अर्थमन्त्री खतिवडाले कपडा उद्योगीहरूलाई निहुँ नखोज्न चेतावनीसमेत दिए ।
नेपाल उद्योग परिसंघ र राजस्व विभागको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको थियो । सरकारले चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत् विभिन्न क्षेत्रका उत्पादकहरूलाई दिँदै आएको भ्याट फिर्ता गर्ने पहिलेको व्यवस्था खारेज गरेपछि हाल कपडा उद्योगीहरू व्यवसाय नै बन्द गरेर भ्याट फिर्ताको माग गर्दै आइरहेका छन् ।