लिटरेचर फेस्टिभल पुसमा आयोजना गरिने | १०० जना लेखक⁄साहित्यकार सहभागी हुँदै
काठमाडौं । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने नेपाल लिटरेचर फेस्टिभल आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।
सातौं संस्करणमा स्वदेशीसहित डा. निकोला स्ट्रिटेन (बेलायत), मोहम्मद हनिफ (पाकिस्तान), प्रज्ज्वल पराजुली (भारत), नमिता गोखले (भारत), हरिश नाम्बियर (भारत), मञ्जुश्री थापा (क्यानडा) लगायतका लेखक तथा साहित्यकार सहभागी हुने बताइएको छ ।
साहित्य महोत्सवलाई लेखक तथा पाठकबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसरको रुपमा लिनुपर्ने साहित्यकार खगेन्द्र संग्रौलाले बताए । विगतदेखि सेसन वक्ताको रुपमा सहभागी हुँदै आएका संग्रौलाले फेस्टिभलमा गैर−साहित्यिक विषयमा पनि छलफल, विचार, विमर्श हुनु सकारात्मक रहेको बताए ।
रेमिट्यान्स कम्पनी आइएमई गु्रप र फाउण्डेसनबीच फेस्टिभल प्रायोजन सम्झौता भएको आयोजक संस्थाले जानकारी दिएको छ । सन् २०११ मा ललितपुरको झम्सिखेलबाट शुरु भएको महोत्सवको नाम यसपटक पटक ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ भएको छ । २०७२ को विनासकारी भूकम्पअघिसम्म काठमाडौंमा हुँदै आएको फेस्टिभल तेस्रो पटक पोखरामा हुन लागेको हो ।