जोशी हाइड्रोपावरको १७ करोड आईपीओ आउँदै | मंसिर १६ गतेदेखि आवेदन खुला, ११ वर्षमा लगानी उठ्ने
काठमाडौं । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । खराव रेटिङ पाएको कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका वासिन्दालाई निष्कासन गर्दा नबिकेको दुई लाख ४२ हजार एक कित्ता शेयर पनि यसैमा समावेश गरेको हो ।
साधारणमा लगानी फिर्ता हुने अवधि अर्थात पे व्याक पिरियडु नै ११ वर्ष लाग्ने भएपछि स्थानीय प्रभावित क्षेत्रका वासिन्दा आकर्षित भएका थिएनन् ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ५० हजार ७१४ कित्ता शेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । त्यस्तै ८४ हजार ५२३ कित्ता शेयर सामुहिक लगानीकोषको लागि बाँडफाँड गरिसकेको छ । बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।
आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ८ लाख कित्ता सम्मको लागि छिटोमा मंसिर १९ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा पुष १६ गतेसम्म आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
तीन मेगावाट क्षमताको यस आयोजनाको जम्मा लागत ५५ करोड ३५ लाख रुपैयाँ छ भने प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पश्चातको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
प्राथमिक शेयर आवेदनकालागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।