सिद्धबाबामा सुरुङमार्ग बनाउन ७ अर्ब खर्च लाग्ने |
काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडकमा बर्षेनी पहिरोले धनजनको क्षती हुदै आएको छ । स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।
यो आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्न स्वीस सरकारलाई नै जिम्मा दिने विषयमा अर्थ मन्त्रालयसँग सहमति मागिएको बताइएको छ । प्रारम्भिक अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष प्राविधिकहरुले निकालेका छन् ।
सिद्धबाबामा झण्डै एक किलोमिटरको सुरुङमार्ग बनाउन करिब ७ अर्ब खर्च हुने अनुमान गरिएको छ । सिद्धबाबाको पहिरोमा नरम माटोमा अडिएको चट्टान छ । जुन सुख्खायाममा पनि खस्ने समस्या छ । साँघुरो खोँचमा रहेको सडकको तल तिनाउ नदी बग्छ ।
पहिरोसँगैको चर्चित सिद्धबाबा मन्दिरमा भक्तजनको ठूलो भीड पनि लाग्छ । भक्तजनहरु ठूलो जोखिम मोलेर मन्दिरमा पूजाआजा गर्छन । सिद्धबाबाको पहिरोले त्रास नहटेपछि यो राजनीतिक दलको चुनावी एजेण्डा पनि बनेको थियो । त्यसकै आधारमा धेरै उम्मेदवारले यो पहिरो छल्ने गरी सुरुङमार्ग निर्माण गर्ने आश्वासन पनि देखाएका थिए ।