सिटिजन्स बैंक साढे २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दै | विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्कासन गर्न लागेको हो । सो मात्राको बण्ड (ऋणपत्र) निष्कासनका लागि बैंकले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकका रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।
उक्त नियुक्तिसँगै ग्लोबल आईएमई क्यापिटलले बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बण्ड सर्वसाधारणमा जारी गर्नेछ ।
ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् ।
२ अर्ब ५० करोडबराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (अर्थात् २ अर्ब रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (अर्थात् ५० करोड रुपैयाँ) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा विक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।